राजविराज – सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा खनेर पुरिएको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो खनी पुरिएको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जनाए ।
कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरा गाँजा बरामद गरेको एसपी काफ्लेले जनाए । बेवारिसे अवस्थामा फेला परेको गाँजाबारे अनुसन्धान भइरहेको काफ्लेले बताए ।














