काठमाडौं- रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका–७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् ।
काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरेबियन मुलुकहरूमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर लाखौं रूपैयाँ ठगी गर्ने गरेको आरोप छ । सो कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ तारकेश्वर नगरपालिका–११ शेषमतिबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।














