धनगढी- कैलाली उद्योग वाणिज्य संघले व्यवसायीका विविध समस्या बारे उप-प्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघले शुक्रवार स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै मन्त्री पौडेललाई विविध समस्याबारे ज्ञापन पत्र बुझाएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
मन्त्री पौडेललाई स्वागत गर्दै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले व्यवसायी निकै सङ्कटमा भएको बताएका थिए । एकलौटी किसिमले र्बैकंहरु ब्याज बढाइरहने, र मुनाफा असुलिरहने तर व्यवसायीहरू जग्गा जमिन लिलाम गर्नुपर्ने स्थितिमा पुगेको भन्दै समस्या समाधानका लागी उनले मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । उनले बैङ्कले बढाएको ब्याजदर घटाउनु पर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राखे ।
मन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागि परेको बताएका थिए । उनले सरकार उद्योगी व्यवसायीहरूसँग उनीहरूका समस्याहरू हल गर्ने विषयमा छलफल गरिरहेको समेत जनाए ।














