धनगढी- नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी पूर्वी नेपाल पुगेका छन् ।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका हुन् ।
बुधबार धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले शुक्रबार कोशी प्रदेश पुगेर त्यस जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।

उद्योगी व्यवसायीहरुलाई शनिबार भेट गर्दै अध्यक्ष द्वयले सुदूरपश्चिम र सुदूरपूर्वलाई जोडने उद्देश्यसहित चुनावलाई पनि मध्येनजर गर्दै आफूहरु पूर्वसम्म पुगेको बताए । सुदूरपूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढन तयार रहेको धारणा राखे।
भेटका क्रममा त्यहाँका उद्योगी व्यवसायीहरुले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाए । महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।
साना तथा मझौला उद्योगी व्यवसायीहरुको समस्यालाई उजागर गर्दै समाधानका लागि अग्रसर रहँदै आएका कुँवर र जोशीले सुदूरपश्चिमका व्यवसायीहरुलाई एक ठिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छन् ।
बैंकको चर्को ब्याजदरविरूद्ध उनीहरूले आन्दोलनको नेतृत्व गर्दै प्रदेशदेखि संघसम्म आन्दोलनको नेतृत्व गरेका थिए । जुन संघर्ष अहिले पनि जारी छ ।















