काठमाडौं- रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको तनहुँ–१ मा स्वाभाविक दाबेदार हुन्, गोविन्द भट्टराई। जो आजभन्दा २६ वर्षअघि नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए। तनहुँमा समकालीन सबैले अवसर पाउँदा भट्टराई अपवादमा पर्छन्।
तिनै भट्टराईलाई कांग्रेसले पहिलो पटक संघीय संसद्को टिकट दिएको छ। ४० वर्षदेखि राजनीतिमा सक्रिय भट्टराईले टिकट पाउँदै गर्दा कांग्रेसको राजनीतिमा आएको १० वर्ष भएका डा. स्वर्णिम वाग्ले भन्दै छन्– कांग्रेसले ममाथि अन्याय गर्यो।
कांग्रेस छोड्दै गर्दा वाग्लेले सभापति शेरबहादुर देउवा र आरजु राणाले पेलेको गुनासो गरेका छन्। उनले ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले’ कांग्रेस छोड्ने स्थिति आएको आरोप लगाएका छन्।
के साँच्चै उनी ‘‘देउवा–आरजु’ को पेलानमा परेका हुन् त ? वाग्लेले पाएको नियुक्त र मनोनयन हेर्दा अकै देखिन्छ। कांग्रेसमा छोटो समयमा अधिक अवसर लिनेमध्ये उनी पनि पर्छन्।
वाग्लेले भनेकै पछिल्लो १० वर्ष हेर्दा पनि उनले पटक पटक अवसर पाएका छन्। २०७० सालमा प्रधानमन्त्री भएका सुशील कोइरालाले उनलाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरे। त्यसपछि कांग्रेस सभापति देउवाले २०७३ भदौ २६ मा डा. वाग्लेलाई पुनः आयोग सदस्य बनाए। त्यति वेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए।
योजना आयोगका सदस्यका रूपमा दोस्रो कार्यकाल नसकिंदै उनले देउवाबाट अर्को नियुक्त पाए। तत्कालीन प्रधानमन्त्री देउवाले वाग्लेलाई २०७४ साउन १९ मा योजना आयोगको उपाध्यक्ष नियुक्त गरे।
लाभको पदमा मात्रै होइन, पार्टी राजनीतिमा देउवाले उनलाई अवसर दिएको देखिन्छ। कांग्रेसको २०७२ सालमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि देउवाले डा. वाग्लेलाई महासमिति सदस्यमा मनोनीत गरे। त्यस्तै, २०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा पनि राखेका थिए।
जबकि, वाग्लेले कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी रोज्दा आफ्नो क्षमताको मूल्याङ्कन पार्टीभित्र हुन नसकेको गुनासो गरेका छन्।













