धनगढी– नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसँगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी पूर्वी नेपालको मध्य पहाडी क्षेत्रको तीन जिल्लाका उद्योग वाणिज्य सङ्घ पुगेका छन् ।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका हुन् ।
बुधवार धनगढीबाट चुनावी अभियान सुरु गरेका कुँवर र जोशीले सोमवार कोशी प्रदेशको खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला पुगेर त्यस जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीहरूलाई भेट गर्दै अध्यक्ष द्वयले सुदूरपश्चिम र सुदूर पूर्वलाई जोडने उद्देश्यसहित चुनावलाई पनि मध्यनजर गर्दै आफूहरू पूर्वसम्म पुगेको बताए । सुदूर पूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढ्न तयार रहेको धारणा राखे।

जिल्ला र नगर उद्योग वाणिज्य संघहरूले भाइचाराको सम्बन्ध रहन आवश्यक रहेको बताए । महासंघले जिल्ला नगरलाई हेर्न दृष्टिकोण नै फरक रहेको गुनासो गरे ।

भेटका क्रममा उनीहरूले चुनावमा जीतको अग्रिम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्धता जनाए । चुनावले गर्दा पूर्व९पश्चिमलाई जोडने बताएका हुन् ।
महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।













