धनगढी- थारु समुदायले मान्ने विभिन्न कुल देवतालाई कैलारी गाउँपालिका–७ रामपुरमा देउथानको स्थापना गरेर एउटै ठाउँमा राखिएको हो । कुल देवताको संरक्षणका लागि थारु गुरुबा बैदवा समाज जिल्ला कार्य समितिले देउथान स्थापना गरेको हो ।
विभिन्न कुल घरानले मान्दै आएका कुलदेवता त्यसमा राखिएका छन् । थारु समुदायले जगननथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखीनियाँ, मदुवा लगायत सबै थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् । यी सबै पहिले छुट्टाछुट्टै स्थानमा राखिन्थ्योे।
फरक कुलका विभिन्न देवीदेवतालाई अब कैलालीमा भने एकै थलोमा देख्न पाइनेछ । गुरुबा बैदवा र देवीदेवता मान्ने चलन घट्दै गएकाले यी सबैको जगेर्ना गर्नका लागि देउथान स्थापना गरिएको समाजका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले बताए । उनले पछिल्लो समय समुदायबाट गुरुबा, बैदवा घट्दै गएकोप्रति चिन्तासमेत व्यक्त गरे ।
थारु समुदायमा भोज, भतेरदेखि विभिन्न कार्य वा पूजाका लागि गुरुबा, बैदवा आवश्यक पर्ने गर्दछन् । थारु समुदायमा प्रकृति पूजक मानिने थारु समुदायमा धेरैजसो पूजा गर्न गुरुबा, बैदवा नभई हुँदैन । त्यस कारण हरेक गाउँमा भल मन्सासंगै गुरुबा पनि राख्ने चलन छ । नाचगान गर्नका लागिसमेत गुरुवाको आवश्यकता पर्ने गरेको छ ।
रामपुरमा स्थापना भएको देउथानमा हरेक वर्ष पूजा पनि गरिने जनाइएको छ । कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले धर्म, संस्कृति कुनै पनि समुदायको पहिचान रहेकाले यसको संरक्षण, संवर्धन गर्न आवश्यक रहेको बताए ।















