काठमाडौं- बजारमा तरलता अभाव भएपछि जग्गा वर्गिकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका हुन् ।
बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको उनले बताए।
उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा उनले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने बताए ।
सरकारले यसै वर्ष ल्याएको भू–उपयोग नियमावलीका कारण स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्छ । यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्नुपर्ने नियम त्यसमा छ ।













