काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गर्ने तयारी गरेपछि ‘कोर टिम’को भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गरेको अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई मंगलबार बयान दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको थियो । त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गरेका थिए । उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने बयान दिए ।
समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।














