टीकापुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीका समस्यालाई आफ्नै समस्या ठानी समाधान गर्ने बताएकी छिन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र टीकापुर आउनुभएकी मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन् । शुक्रबार शिवनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहाँका मुक्त कमैंया भूमिहिन, सुकुम्वासीहरुले मन्त्री श्रेष्ठको स्वागत, सम्मानमा कार्यक्रम आयोजना गरेका थिए ।
‘२०७२ सालको टीकापुर घटनालगायतका विषयमा आफ्ना माग मुद्दा पूरा नभई सरकारमा नजाने भने पनि सरकारले आफ्ना मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा गएको छ’ मन्त्री श्रेष्ठले भने, ‘तपाईहरुले चुनाव जिताएर पठाउनुभयो, मन्त्री पनि भएँ अब जनताको अपेक्षा अनुसारको काम गर्नेछु ।’
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले टीकापुरको मुख्य समस्या भूमि व्यवस्थापन र कर्णाली नदीको खतरा रहेको बताए । टीकापुर बुहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर माविको जग्गामा सातवटा शिविर बनाई मुक्त कमैंया, सुकुम्वासी, बाढीपीडित गरी करिब पाँच हजार जति परिवार बसिरहेको उनले बताए ।
नगरपालिकाभित्र भूमिहिन, अव्यवस्थित बसोबासी गरी दश हजारको संख्यामा फाराम भरेको उहाँले जानकारी दिए । मन्त्री श्रेष्ठसमक्ष टीकापुरका सात वटै शिबिरका तर्फबाट माग राख्दै संयोजक सीता चौधरीले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीलाई बसेकै ठाउँमा दुई कठ्ठा घरबास, खेतीका लागि पाँच कठ्ठा जग्गा र घर बनाउन तीन लाख रुपियाँ नगद र १०५ क्यूफिट काठ उपलब्ध गराउन माग गरे । प्रतिपरिवार एक जनालाई रोजगार र उच्च शिक्षा अध्ययन निःशुल्क हुनुपर्ने उनले माग राखे ।















