धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कंचनपुरमा प्रदेश सरकारले संचालन गरिरहेका आयोजनाहरुको अनुगमन गरेका छन् । बिहिवार मन्त्री देउवा नेतृत्वको टोलीले कंचनपुरको महाकाली पारि रहेको दोधारा चाँदनी नगरपालिका जोडने सडक पुलको अनुगमन गरेका हुन् ।
प्रदेस सरकारको लगानीमा निर्माण हुनलागेको उक्त पुल निर्माण सम्पन्न पछि महाकाली पारीका बासिन्दालाई महेन्द्रनगर आवत जावतमा सहज हुनेछ । दोधरा चाँदनी नगरपालिका वडा नम्बर ८ बाँसघारी सुन्दरनगर जोडने पक्की पुलको अब निर्माण कार्य तत्काल अघि बढाउने मन्त्री देउवाले बताए ।
उनले अब तत्काल निर्माण कार्य अघि बढाई सम्झौता अबधि भित्रै निर्माण सम्पन्न गर्ने समेत बताए । त्यस लगायत कंचनपुरमा प्रदेस सरकार द्वारा संचालित अन्य योजनाहरुको पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ । योजनाहरुको अनुगमन पछि मन्त्री देउवाले भने- हरेक योजना सम्झौताको अबधि भित्रै सम्पन्न हुनुपर्छ, कुनै पनि बहानामा योजनामा ढिलाई गर्न पाईदैन । योजनाको प्रगती हेरेर निर्माण ब्यबसायीलाई पुरष्कृत गरिने समेत मन्त्री देउवाको भनाई छ ।













