धनगढी– कैलालीमा खान योग्य जङ्गली च्याउ (बेम्टी) मासुभन्दा महँगोमा बिक्री भइरहेको छ । स्थानीयले जङ्गलबाट खोजेर ल्याएको च्याउ प्रतिकेजी एक हजार ६०० रुपियाँमा बिक्री भइरहेको हो ।
खसीको मासु यहाँ प्रतिकेजी हजार रुपियाँमा बिक्री भइरहेको छ । ब्रोइलर कुखुराको मासु र माछाभन्दा च्याउ तीन गुणा बढी महँगो रहेको छ । वर्षको एक सिजनमा मात्रै पाइने दुर्लभ जस्तै तरकारी रहेकाले च्याउ महँगोमा बिक्री हुनेगरेको धनगढी उपमहानगरपालिका –८ तरकारी व्यापारी रामचन्दर रानाले बताए ।
“जङ्गलबाट खोजेर ल्याउनुपर्छ । खोज्न धेरै मिहिनेत लाग्छ”, उनले भने, “धेरै दुःख गरी खोजेर ल्याइने गरेकाले मासुभन्दा महँगोमा बिक्री हुने गर्दछ ।” धनगढी बजारमा अहिले आफूहरूले प्रतिकेजी एक हजार दुईसय रुपियाँमा जङ्गली च्याउ बिक्री गरिरहेको रानाले बताए ।
खान योग्य च्याउ साउन, भदौ गरेर तीन पटकसम्म उम्रिने गरेको कृषकको भनाइ छ । दुई पटकसम्म धमिराको पुरानो घर र एक पटक जताततै च्याउ उम्रिने गरेको जनाइएको छ ।
नेपालमा च्याउ खाएर मान्छे बिरामी पर्नेगरेको खबर सुनिने गरे पनि खान मिल्ने च्याउ स्वास्थ्यको दृष्टिकोणले राम्रो हुनेगरेको स्थानीयले बताएका छन् ।
वनस्पति अनुसन्धान केन्द्र कैलालीका अनुसार नेपालमा एक हजार २९१ प्रजातिका च्याउ पाइनेगरेको छ । जसमध्ये १५९ प्रजातिका च्याउमात्रै खान योग्य रहेको कृषि विज्ञको भनाइ छ ।















