काठमाडौँ- प्रतिनिधि र प्रदेशसभा चुनावमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । सोमबार बसेको कार्यदलको बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो ।
कार्यदलले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँटको खाका तयार पारेर सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सञ्चारमन्त्री कार्कीका अनुसार कार्यदलको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ । बैठकमा सबै दलका नेताहरूले चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा आ–आफ्ना दलका धारणा राखेका थिए । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल अघि बढेको छ ।














