बाजुरा– जुराको खप्तड छेडेदह गाउँपालिकामा पाँच वर्षदेखि ओडारमा बस्दै आएकी एक महिलाको उद्दार गरिएको छ । खप्तड छेडेदह–१ लुगेनाकी ५५ वर्षीया जलु बुढा पाँच वर्षदेखि एक छोरासहित ओडारमा बस्दै आएकी थिइन् । ६ वर्षको छोरा मीन बुढासहित उनलाई ओडारबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।
आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले शुक्रबार उद्धार गरेर काँडा स्वास्थ्य चौकीमा राखेका छन् । ओडारमा बस्दै आएका आमा र छोरा दुबै कूपोषित रहेका छन् ।

भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बिहे गरेका थिए । जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ वर्षका चक्र बुढा भारत गएका छन् । १२ वर्षका छोरा कुशल बुढा बुवासँग घरमै बस्दै आएका छन् । ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका थिए ।
जलुले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी थिइन् । श्रीमानले घर लैजान खोज्दा पनि उनी घर गइनन् । जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाहीँ झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन् ।

भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइदिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बसेकी हुन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढाले बताए ।
खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन् । तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी स्वास्थ्य चौकी जान तयार भइन् । खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बच्चाको सुरक्षाको जिम्मा लिने बताएको छ ।














