धनगढी- कैलालीमा यस वर्ष चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । पालिकामा चैते धान खेतीसम्बन्धी कार्यक्रम विस्तार भएकाले गत वर्षभन्दा यो वर्ष चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताए ।
उनका अनुसार कैलारी गाउँपालिकामा यसवर्ष २० हेक्टरमा ज्ञान केन्द्रकै कार्यक्रम थप भएको छ । यसैगरी, विभिन्न पालिकामा धान जोन, कृषि ज्ञान केन्द्र र पालिकाको आफ्नै कार्यक्रम सञ्चालन भएकाले चैते धान खेती बढ्ने देखिएको हो । “पालिकाबाट अहिले पूर्ण तथ्याङ्क भने आइपुगेको छैन” शर्माले भने, “यद्यपि, यसवर्ष ३० हेक्टरसम्म चैते धान खेती बढ्ने अनुमान गरेका छौँ ।”
गत वर्ष कैलालीमा एक हजार १०० हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । त्यसमा प्रतिहेक्टर पाँच मेट्रिक टनको दरले पाँच हजार ५०० मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा बाढीले बढी प्रभावित गर्ने पालिकामा चैते धान खेती बढी गर्ने गरिन्छ । सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसैगरी, जोशीपुर, जानकी गाउँपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिकामा पनि चैते धान खेती भइरहेको छ ।
यी पालिकामा चैते धान खेतीका लागि धान जोन र पालिकाकै कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । यसैगरी, कृषि ज्ञान केन्द्रको कार्यक्रमहरू जिल्लाभरिकै पालिकामा सञ्चालन भइरहेको केन्द्रको भनाइ छ ।
उन्नत बीउ, समयमै उपयुक्त मलजल, गोडमेल भएमा चैते धान बर्खे धानभन्दा बढी फल्ने गरेको जनाइएको छ । यो बेला बादल नलाग्ने, धानले चहकिलो घाम पाउने गरेका कारण चैते धान बर्खेभन्दा बढी फल्ने गरेको शर्माले बताए । “बर्खेभन्दा चैते धान बढी उत्पादन हुने कुरा वैज्ञानिक रूपमै पुष्टि भएको छ” उनले भने। गोरखापत्रबाट














