धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकाले भूमिहीन बादी परिवारले घरबासको लालपुर्जा वितरण गर्न थालेको छ । नगरपालिकाले वडा नम्बर ३ बल्चौरका १२४ भूमिहीन बादी परिवारलाई लालपुर्जा दिएको जनाएको हो।
पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवारमध्ये १२४ परिवारको हातमा मङ्गलबार लालपुर्जा पुगेको छ। छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिने बताइएको छ। लालपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन्।
यस्तै भूमि आयोगका कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लम्किचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको जनाएका छन्। उनले कैलालीका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भैरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको जानकारी दिए।













