कञ्चनपुर– राष्ट्रिय भूमि आयोगले कञ्चनपुरका विभिन्न पालिकामा १५ सय हेक्टर जमिन नापी गरेको छ । जिल्लाको ९ वटै स्थानीय तहसँग सम्झौता गरी ४ वटा स्थानीय तहमा नापीको काम भइरहेको हो ।
राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अनुसार वेदकोट नगरपालिकामा नापीको काम अन्तिम चरणमा पुगेको छ । यहाँ एउटा वडाबाहेक सबैमा नापी सकिएको छ । ११ हजार ९५९ कित्तामा १ हजार २३४ हेक्टर जमिन नापी भएको आयोगका कञ्चनपुर अध्यक्ष देवेन्द्र ढुंगानाले बताए । उनका अनुसार वडा नम्बर ९ मा केही विवाद रहेका कारण नापीको काम रोकिएको छ ।
यसैगरी दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिकामा नापीको काम भइरहेको छ । दोधारा चाँदनीमा १३६ कित्ता, शुक्लाफाँटामा ३१४, कृष्णपुरमा ३२१, र बेलौरीमा २२५ कित्ता नापी भएको अध्यक्ष ढुंगानाले बताए । आयोगका अनुसार जिल्लाभरिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीका ६९ हजार ५७५ निवेदन दर्ता भएका छन । भूमिहीन दलितका २२९८, भूमिहीन सुकुम्बासीका २७३७ र अव्यवस्थित बसोबासीका ६४५४० निवेदन दर्ता भएका छन ।
यसैगरी विगतका आयोगबाट अधुरा रहेका ४ हजार ९६७ र यसपटक दर्ता भएका २७ गरी ४ हजार ९९४ अधुरा कामको पनि कार्यविधि अनुसार प्रक्रिया अघि बढेको अध्यक्ष ढुंगानाले बताए । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबास र सुकुम्बासीका निवेदन कृष्णपुर नगरपालिकामा दर्ता भएका छन ।
यहाँ अव्यवस्थित बसोबासका १५ हजार १३५ र भूमिहीन दलितका ६१ तथा भूमिहीन सुकुम्बासीका १३५ निवेदन दर्ता भएका छन । शुक्लाफाँटामा अव्यवस्थित बसोबासीका ११ हजार ४८९, भूमिहीन दलितका १९२ र भूमिहीन सुकुम्बासीका १५४ निवेदन दर्ता भएका छन । नापीको काम सुरु भएका अन्य पालिकामा पनि छिट्टै नापी सुरु हुने अध्यक्ष ढुंगानाले बताए ।














