डोटी- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि एकीकृत समाजवादी पार्टी डोटीले उम्मेदवार सिफारिस गरेको छ । पार्टी कार्यालय सिलगढीमा बसेको नेकपा एकीकृत समाजवादी पार्टी डोटीको सचिवालयको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उमेदवारको निर्णय गरी प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा निर्वतमान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले संघमा प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने छन् । त्यसैगरी संघको समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, ऐश्वर्या भण्डारी विष्ट, महादेब भारती, डम्मरुदेब भट्ट रहेका छन् ।
त्यसैगरी प्रदेश (क) का लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंह र पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी सिफारिस भएका छन् । प्रदेश (क) समानुपातिक तर्फ शिवराज खड्का, सीता रायमाझी, गोरख सार्की, धनबहादुर नेपाली, खगेन्द्र नेपाली सिफारिस भएका छन् ।
डोटीको प्रदेश (ख) का लागि प्रत्यक्षतर्फ प्रदेश सरकारका निर्वतमान आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र समानुपातिक तर्फ यज्ञराज जोशी, तापसिंह केलेल, मेघराज भट्ट र नेत्र शाही सिफारिस भएका छन् ।
सिफारी भएका उमेदवारको सूची आफ्नो रायसहित पार्टीको प्रदेश कमिटीले केन्द्रीय कमिटीलार्इ पठाउने छ र केन्द्रीय कमिटीले भदौ २० गते भित्र उम्मेदवारको छनोट गरिसक्ने एकीकृत समाजवादी पाटी डोटीका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । अध्यक्ष बोगटीले गठबन्ध भए संघ भागमा परे निर्वतमान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले र प्रदेशमा भए आफै निर्वाचन लड्ने जानकारी दिए ।














