कञ्चनपुर- कञ्चनपुरमा बषौँदेखि समस्यामा रुपमा रहेको आरक्षपीडितको समस्या समाधानका लागि विस्थापितका लागि मुआब्जा वितरण आयोग तयार रहेको कार्य दलका संयोजक दलबहादुर बोहराले प्रतिबद्धता जनाएका छन् ।
सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारका लागि मुआब्जा निर्धारण आयोगले आयोजना गरेको छलफल तथा बैठक कार्यक्रममा संयोजक बोहराले पीडितको समस्या समाधान गर्ने बताएका हुन । लामो समयदेखि पीडितको समस्या जटिल बन्दै गएको अवस्थामा अब आफ्नो आयोग अन्तिम हुनुपर्नेमा जोड दिँदै उनले समस्या समाधानका लागि तयार रहेको बताए । आयोगको कामलाई राजनीतिक दल, नागरिक समाज, पीडित एव सरकारले समेत साथ दिनुपर्नेमा जोडदिए ।
राजनीतिक दल सहित कार्य दलको बैठकले पीडितको समस्या समाधानका लागि थप अधिकार माग्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले पीडितको समस्या समाधानको विकल्प नभएको बताए ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेले राज्यबाट पीडितको सम्पत्ती खोसिएकाले अब राज्यले पीडितको पुर्नस्थापनामा जोडदिए । उनले बोहरा आयोगलाई थप आधिकार दिएरै भएपनि पीडितको समस्या समाधान गर्नुपर्ने बताए । राजनीतिक दलका तर्फबाट आफुले सहयोग गर्ने समेत प्रतिबद्धता जोहर गरे ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले विगतका आयोगको प्रतिवेदन अध्ययन गरेर पनि पीडितका हितमा भएका प्रतिवेदन कार्यान्वयनमा जोडदिए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य दिल ब। देउवाले पीडितको पहिचानदेखि छुटफुट समेत समेटेर सबैलाई भूमि अधिकार दिलाउनुपर्नेमा जोडदिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले ठाकुर आयोगले सरकारलाई बुझाएको १४ सय ८० मै टिकेर कामकाज गर्ने कार्यधिकार आएको बताउँदै अनुरुप छानबिन गर्नुपर्ने बताए ।
कार्यदलका संयोजक बोहराले आरक्षपीडितका सबै शिबिरमा गएर अध्ययन गर्दै पीडितको माग चाहना अनुरुप पुर्नस्थापनाका लागि योजना ल्याउने बताए । ०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित पीडितको उचित पुर्नस्थापना नहुँदा उनीहरु अहिले पनि खुला आकासमुनी रात काट्न बाध्य छन् ।













