धनगढी– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन् । संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कञ्चनपुर आउन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकीलगायतलाई ओलीले एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
माओवादीबाट पनि ठूलो संख्यामा एमाले प्रवेश गर्ने जनाइएको छ । कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा थुप्रै संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
बिहान ११ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको र महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १ः०० बजे कार्यक्रम आयोजना हुने जनाइएको छ ।













