धनगढी- नेपाल वेष्टर्न एकेडेमी धनगढी र युनिग्लोव कलेज काठमाण्डौंबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ ।
बिहीबार धनगढीमा नेपाल वेष्टर्न एकेडेमीका तर्फबाट मेनेजिङ डाइरेक्टर शैलेशकमार सिंह र युनिग्लोव कलेजका तर्फबाट प्रिन्सिपल डा. नरबहादुर बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
युनिग्लोव कलेजसँग भएको उच्च जनशक्तिले नेपाल वेष्टर्न कलेजमा तालिम दिने,दुबै कलेजबीच अनुभव साटासाट, विद्यार्थीले एक कलेजबाट अर्को कलेजमा गएर ज्ञानसीप हासिल गर्न सक्ने,सँयुक्तरुपमा रिसर्च,कन्फेरेन्स सेमिनार गर्ने,संस्कृति बारेमा एक अर्कासँग अनुभव साटासाट गर्ने,नेपाल वेष्टर्न कलेजबाट मास्टर डिग्री पढ्न युनिग्लोव कलेजमा जाने विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरिनेलगायतका बँदाहरु सम्झौता पत्रमा रहेका छन् ।
वेष्टर्न एकेडेमीका मेनेजिङ डाइरेक्टर सिंहले यहाँको समग्र शैक्षिक विकासका लागि युनिग्लोव कलेजसँग सहकार्य गरिएको बताए । उनले शिक्षक,अभिभावक र विद्यार्थी तथा शैक्षिक क्षेत्रलाई अगाडि बढाउन सहकार्य गरेको बताए ।
त्यस्तै युनिग्लोव कलेजका प्रिन्सिपल डा. बिष्टले सहकार्यपछि दुबै कलेजका विद्यार्थीले आफ्ना अनुभव साटासाट गर्न पाउनुका साथै ज्ञान सीपमा वृद्धि हुने विश्वास व्यक्त गरे । यी दुबै कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हुन् । विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गरेको र प्राविधिक ज्ञान दिएर रोजगारमुखि बनाउने कार्यक्रम सञ्चालन गरिरहेको डा. बिष्टले बताए ।














