धनगढी -किसानले उत्पादन गरेका वस्तु संकलन, भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशलाई पनि कार्यक्षेत्र बनाएको छ ।
बागमति, मधेश, कोषी, लुम्बिनी र गण्डकी प्रदेशलाई आफ्नो कार्यक्षेत्र विस्तार गरिरहेको खाद्य बैंकले सुदूरपश्चिम प्रदेशका किसानहरुलाई समेत आफ्नो सेवामा जोड्ने भएको छ । खाद्य बैंकले राष्ट्रिय खाद्य बैंकले किसान, व्यवसायी, जनप्रतिनिधि र सरकारी निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी सुदूरपशिचम प्रदेशमा पनि खाद्य गोदाम स्थापना गरी संकलन, प्रशोधन र प्याकेजिङ गरी विक्री गर्ने जनाएको छ ।
खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले स्थानीय सरकारका जनप्रतिनिधिको रोहबरमा किसानसंग उत्पादन खरिद सम्झौता गरी किसानको उत्पादन खाद्य बैंकले खरिद गर्ने बताए । उनले त्रिपक्षीय सम्झौता गरी उत्पादन खरिद गर्दा किसानले आफ्नो उत्पादनको मुल्य पाउने र उपभोक्ताले समेत सुपथ मुल्यमा खरिद गर्न पाउने बताए ।
प्रांगारिक उत्पादनमा जोड दिंदै आएको खाद्य बैंकले किसानहरुको सहकार्यमा खाद्य बैंकले समेत माछापालन, लसुन, प्याज लगायतका तरकारी तथा अन्नबालीको खेती गरिरहेको बताए । उनले धनगढीमा समेत राष्ट्रिय खाद्य बैंक मार्ट सञ्चालन गरिने बताए । उनले किसानलाई उत्पादनमा सहयोग गर्न पाँच लाख रुपैयाँसम्मको कृषि सामाग्री खरिदका लागि ऋण दिने व्यवस्था गरिरहेको बताए ।














