धनगढी- धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलन हुने भएको छ । बास नेपाल सुदूरपश्चिमले यही भाद्र २५ गते धनगढीको ओम प्यालेसमा भ्रष्टाचार विरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा प्रदेशका ९ ओटै जिल्लाका झण्डै एक हजार भन्दा बढी युवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सुदूरपश्चिम बढिरहेको बढ्दो अनियमितता र भ्रष्टाचारको क्षेत्रमा युवाहरूको भूमिका, भ्रष्टाचार न्यूनीकरण र सुशासन कसरी कायम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले बताए ।
उनले भ्रष्टाचार विरुद्धको युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जबाफदेहिता र असल शासनको अभियानमा सहभागी गराउन प्रदेश सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी दिए । उक्त सम्मेलनमा भ्रष्टाचार विरुद्ध बृहत् प्रभात फेरी, खुल्ला छलफल र विभिन्न प्रस्तुतिकरणहरु रहेका छन् । यस्तै सम्मेलनले भ्रष्टाचार विरुद्ध प्रदेश घोषणा पत्र जारी गर्ने तयारी गरेको छ ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा सूचना आयुक्त कृष्णहरि बास्कोटाको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका मन्त्री लगायत स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहनेछ ।














