बैतडी- बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभन्ज्याङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण भइरहेका १० वटा नमुना सहरमध्ये बैतडीको पाटनमा ३८ करोड रुपियाँ खर्च गरेर १३ वटा संरचना निर्माण भएका छन् । चालु आर्थिक वर्ष २०८१र८२ मा थप १३ करोड ५० लाख रुपियाँ खर्च हुने बताइएको छ ।
विसं २०६८ देखि निर्माण सुरु भएको पाटन नयाँ सहर आयोजनाले हालसम्म बसपार्क निर्माण, खुलामञ्च, स्वागतद्वार, बजार क्षेत्रको बाटो, खोड्पेमा शीतभण्डार, ज्याफूमा तरकारी सङ्कलन केन्द्र, पाटनमा कभर्ड हल, हिरापुर मनोरञ्जन पार्क, मटे–अनारखोली कुक्कौ सडक, चुच्चाई–खोल्सी सडक, बेडौती–गुजर सडक, खोड्पे–सल्लेबासा सडक र नयाँ सहर आयोजनाको आफ्नै कार्यालय भवन गरी १३ वटा संरचना निर्माण गरेको छ । यीमध्ये हिरापुर मनोरञ्जन पार्क भने बजारबाट निकै टाढा अपायक पर्ने ठाउँमा निर्माण भएकाले त्यसको विकल्प खोजी गरिने भएको छ ।
अपायक पर्ने ठाउँमा निर्माण भएको हिरापुर मनोरञ्जन पार्कमा हालसम्म दुई करोड रुपियाँ खर्च भएको छ । मनोरञ्जन पार्क बजारबाट टाढा भएकाले विकल्पमा अर्को पार्क निर्माण हुने नयाँ सहर आयोजना कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इन्जिनियर भुपराज पौडेलले बताए ।
उनले भने, “हिरापुर मनोरञ्जन पार्कबाहेकका अन्य संरचना निर्माण भएसँगै नयाँ सहरले गति लिएको छ । विवादित मानिएको जग्गा एकीकरणको काम पनि नागाडीबाटामा सुरु भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा १३ करोड ५० लाख रुपियाँ बजेट आएकाले थप संरचना निर्माण गर्दैछौँ ।” नयाँ सहर आयोजनाले चालु आर्थिक वर्षमा पाटन नगरपालिका–१ मा साढे चार करोडको डङसिली खानेपानी आयोजना, जग्गा व्यवस्थापनका लागि नागाडीवाडामा पहुँचमार्ग निर्माण, उदयदेव मन्दिरको आश्रमको स्तरोन्नति, श्रीकृष्ण माविको खेल मैदान निर्माण, प्राथमिक स्वास्थ्य केन्द्रदेखि गौराखोला सडक निर्माण गर्ने लक्ष्य राखिएको इन्जिनियर पौडेलले जानकारी दिए ।
एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखेर निर्माण सुरु भएको नयाँ सहर आयोजनामा जनशक्ति र बजेट अभावका कारण लक्ष्यभित्र काम सम्पन्न हुन सकिरहेको छैन । विसं २०९० भित्र व्यवस्थित सहरीकरण भई एक लाख मानिस बस्ने अपेक्षा अनुसार २०६८ सालदेखि नयाँ सहरको काम अघि बढेको थियो । सरकारले देशका १० वटा नयाँ सहर निर्माण गर्न १२ खर्ब रुपियाँ खर्च हुने अनुमान गरे पनि हालसम्म १० वटा सहरमा १८ अर्ब रुपियाँ मात्रै खर्च भएको छ । समयमै बजेट र जनशक्ति नआउने नयाँ सहर आयोजनाको मुख्य समस्या रहेको इन्जिनियर पौडेलले बताए । गाेरखापत्रबाट














