कैलाली । जनता आवास कार्यक्रम अन्तरगत कैलाली र कञ्चनपुरमा २० घर निर्माणका लागि ७० लाख बजेट विनियोजन भएको छ । दलित,जनजाति र सीमान्तकृत वर्गका लागि आर्थिक बर्ष २०८१।८२ मा सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि बजेट विनियोजन गरेको हो ।
कैलालीको जानकी गाउँपालिकामा १० घर र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ५ र भीमदत्त नगरपालिकामा ५ घर निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय कैलालीका सब–इन्जिनियर दिनेशप्रसाद अवस्थीले निशाना न्युजलाई जानकारी दिए । ‘सुरुमा हामी डाटा संकलन गर्छौँ ’ उनले भने ‘नम्बरिङ पछि प्रदेश सांसद र स्थानीय तह,जिल्ला समन्वय समितिको निर्णयपछि मापदण्डका आधारमा घर निर्माण हुने गर्दछ ।’
यो बर्षबाट काम सुरु गर्ने तयारी भइरहेको उनले बताए । जमिन कम भएका सुकुम्बासी पनि यो कार्यक्रममा अटाउने गरेको उनले बताए । आर्थिक बर्ष २०७६।०७७ देखि २०८०।०८१ सम्ममा कैलालीमा २६८ र कञ्चनपुरमा ३६३ घर निर्माण भइसकेको उनको भनाइ छ । घर निर्माणका लागि २२ करोड ११ लाख ५० हजार रकम खर्च भएको उनले बताए ।














