धनगढी । दार्चुलाकाे महाकाली नगरपालिका– ४ खलंगा स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । उक्त चोरी घटनाको अभियोगमा सोही वडाको तल्लासैन बस्ने २३ वर्षिय तुसार लुहारलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंककाे शाखा कार्यालय दार्चुलाको झ्याल फोडी चोरी भएको भनि बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिगई घटनास्थलमा अनुसन्धान गर्दा उक्त चोरी घटनाको वारदातमा लुहार संलग्नता रहेको तथ्य देखिन आई निजको घरकोठा खानतलासी गर्दा उक्त बैंकबाट चोरी भएको नगद रु. ८४ हजार पाँच सय बैंकको ट्याग भएको कार्टुन र सो कार्टुन भित्र रहेको हेड सिसिटिभि क्यामेरा थान–१, एटीएम कार्ड ४ थान, फिक्स डिपोजिट सर्टिफिकेट १ थान र बैंकको स्टोर रुमबाट चोरी भएको खुकुरी एक थान चोरी गर्दा प्रयोग गरेको हेल्मेट, कपडा र जुत्ता समेत बरामद गरी निजलाई आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।













