कैलाली । कामको खोजीमा भारत जाने नेपालीहरुलाई त्रिनगर भन्सार नाकामा कडाई गरिएको छ । भारतीय एसएसबीले गौरीफन्टा नाकामा भारत प्रवेशमा कडाई गरेको हो ।
जेनजी पुस्ताले यही भदौ २३ र २४ गते गरेको आन्दोलनको क्रममा नेपालका कारागारबाट भागेका कैदीबन्दीको जोखिम रहेको भन्दै
नेपालीलाई भारत प्रवेशमा कडाइ गरिएको भारतीय एसएसबीले जनाएको छ । माथीको आदेशअनुसार कडाइ गरिएको जनाएको छ । नेपालबाट भागेका कैदीबन्दीका कारण भारतमा अपराध हुन सक्ने जोखिमका कारण एसएसबीले कडाइ गरेको हुन सक्ने भारत जाने नेपालीले बताउँदै आएका छन् ।
‘भारतमा पनि आन्दोलन भएका कारणले पनि हुन सक्छ’ उनीहरुले भने ‘भारतबाट काम गरी नेपाल आउने नेपालीलाई मात्र आउन दिएको छ ।’ बझाङकी रीमा जपरेल कडायतले बिहानैदेखि त्रिनगर भन्सार नाकामा बसिरहेको र भारतीय एसएसबीले जान नदिएको बताइन् ।
एक महिना छुट्टीको लागि नेपाल आएको र आज भारतको बेङलोर जान भनी यहाँ आएको बताइन् । ‘दुई छोराछोरी र श्रीमान उतै छन’ उनले भनिन् ‘बेङलोर जान भनि आए तर यतै रोकिएकी छु ।’
‘समस्या भयो के गर्ने होला ?’ उनले दुःखेसो गर्दै भनिन् ‘यस्तो होला भन्ने जानेको भए आउने थिएन ।’
















