धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले कारागारबाट भागेका कैदी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ।
जेनजी प्रदर्शनको क्रममा यही भदौ २४ गते कैलाली कारागारबाट भागेका कैदी तथा थुनुवाहरूलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको हो।
फरार भएका कैदीबन्दीहरूलाई कारागार प्रशासनले भाद्र २६ गते नै सूचना जारी गरिसकेको उल्लेख गर्दै प्रहरीले पुनः सार्वजनिक अपिल जारी गरेको छ।
प्रहरीले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने र भविष्यमा पाउन सकिने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने भएकाले तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रहरी नायब उपरीक्षक एवम् कार्यालयका प्रवक्ता राजकुमार सिंहले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।














