धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्झनामा एक सडकखण्डलाई ‘जेनजी मार्ग’ नामाकरण गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आज ‘जेनजी मार्ग’ नामाकरण गर्न कार्यपालिका बैठकमा प्रस्ताव लैजाने बताएका हुन् ।
उनले लेखेका छन् ‘धनगढी–१ जोशी मेडिकल भएको चोकदेखि पार्कमोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिकाद्वारा महिला उद्यम बजार सञ्चालन गरेको क्षेत्र) सम्म जेनजी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु ।’
साथै उनले उक्त सडक क्षेत्रलाई जेनजी मार्ग नाम प्रयोग गर्न सम्पूर्ण नगरवासीमा अपील समेत गरेका छन् । उनले जेनजी आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नगरप्रमुख हमालले लेखेका छन् ‘जेनजी आन्दोलनमा सहिद हुनुभएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । न्याय, अधिकार र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने तपाईहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सधैँ चम्किरहनेछ ।’













