काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार एक भिडियो वक्तव्यमार्फत उनले चुनाव सम्पन्न गर्न ढिलो गर्न नहुने बताए ।
उनले भने, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं ।’
प्रचण्डले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको बताए। उनले भने, ‘हामीले गलत विचार वा नीति लिएका होइनौं तर व्यवहारमा कतै चुक्यौँ।’
उनले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेकोसमेत बताए । तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता जनाए । नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको उनले बताए।
अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र भएको ताउँदै संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा सबै नेपालीको साझा कर्तव्य भएको बताए ।













