अत्तरिया । नेकपा एमालेका सचिव लेखराज भट्टले अहिले देश गम्भीर संकटमा परेको बताएका छन् । आज अत्तरिया स्थित आफनै घरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि अहिले राज्य छ वा छैन भन्ने अवस्था पुगेको बताउदै उनले भने अहिले देश र संविधान गम्भीर संकटमा परेको छ ।
मेरो घरमा ‘आगलागीबाट १० करोडको क्षति पुगेको होला । तर, यो क्षति भन्दा पनि मेरो भावनामा ठुलो चोट पुगेको उनको भनाई छ ।
यो घरमा युद्धका इतिहास, किताब बचपनका फोटोहरू थिए । ती सबै नष्ट भए’ उनले भने ‘विश्व मै कहीँ नभएका किताबहरू थिए । ती सबै नष्ट भए । जसको कुनै मूल्य नै छैन ।’ उनले आफूमाथि निराधार आरोप लगाएर आगजनी गरिएको बताउँदै अहिले पनि कुनै भ्रष्टाचार, उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार भएको बताए । उनले आगलागी गराउनका लागि यसै क्षेत्रका मानिस आएको बताए ।
‘मैले आगो लगाउन को को आएका छन् चिनेको छु । आगो लगाउने भारतबाट पनि आएका छैनन् । बाहिरबाट पनि आएका छैनन् । यसै क्षेत्रका छन्’ उनले भने ‘अहिले ती मानिसको नाम भनेर केही फाइदा छैन ।
सरकारले आन्दोलनमा सहभागी भएकालाई कारबाही नै नगर्ने भनेपछि नाम भनेको केही फाइदा छैन ।’ उनले आफ्ना माग पुर गर्न सडकमा आएका र विध्वंस मच्चाउनका लागि सडकमा आएकालाई छुटाएर कारबाही गर्नुपर्ने बताए ।














