धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा हालसम्म १ हजार २८९ दशमलव ०५ क्विन्टल गहुँ खरिद गरेको छ ।
कम्पनीले जिल्लाका ३ स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट सो परिमाणको गहुँ खरिद गरेको हो ।
जिल्लाको मोहनपुर गोदामबाट ११ दशमलव ८१ क्विन्टल,टीकापुर गोदामबाट एक हजार ९५ दशमलव ११ क्विन्टल र गौरीगंगा खरिदकेन्द्रबाट १ सय ८२ दशमलव १३ क्विन्टल गहुँ खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले जानकारी दिए ।
उनका अनुसार कम्पनीले मोहनपुर र टीकापुरमा यही वैशाख १५ गतेबाट तथा गौरीगंगामा यही वैशाख १७ गतेबाट गहुँ खरिद सुरु गरेको हो ।
खाद्य कम्पनीले सरकारले निर्धारण गरेको गहुँको न्यनतम समर्थन मूल्यभन्दा बढीमा गहुँ खरिद गरिरहेको छ ।
सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनील ४ हजार २५० गहुँ खरिद गरिरहेको उनले जानकारी दिए ।
कम्पनीको जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको,प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषि सम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५ सय क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना रहेको उनले बताए ।
गहुँ बिक्रीका लागि किसानले आफ्नो परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस वा प्रमाणित प्रति र स्वघोषणा पत्र अनिवार्य साथमा ल्याउनुपर्ने तथा गहुँको रकम बैंक खाता मार्फत अनलाइन भुक्तानी गरिने उनले बताए ।



















