धनगढी । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन शनिबार धनगढी पुगेका छन्। विशेष महाधिवेशनपछि उनी पहिलोपटक निवर्तमान सभापति शेरबहादुर देउवा को गृहप्रदेश पुगेका हुन्।
नेपाली कांग्रेसले आजदेखि सुरु गरेको प्रदेश तथा स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेलामा संगठन सुदृढीकरण, सरकारको कार्यसम्पादन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ। दुई दिनसम्म चल्ने उक्त भेलामा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार नै धनगढी पुगेका थिए भने महामन्त्री गुरुराज घिमिरे बिहीबारदेखि नै धनगढीमा सक्रिय छन्।
सभापति थापाको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका नेतासहित मुख्यमन्त्री कमलबहादुर शाह पनि धनगढी विमानस्थल पुगेका थिए। यसअघि “आफ्नो सभापति देउवा नै भएको” अभिव्यक्ति दिएका शाह आज भने थापाको स्वागतमा देखिएपछि राजनीतिक वृत्तमा विभिन्न अर्थ लगाइएको छ।
मुख्यमन्त्री शाहसँगै सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बहादुर थापा, वनमन्त्री शिवराज भट्ट तथा अर्थ राज्यमन्त्री प्रकाश बम पनि विमानस्थल पुगेका थिए। तर उनीहरूलाई विमानस्थलभित्र प्रवेश गर्न नदिइएको बताइएको छ।
सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तनको चर्चा चलिरहेका बेला शाह स्वयं थापाको स्वागतमा पुग्नु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसभित्रै मुख्यमन्त्री शाहविरुद्ध असन्तुष्टि बढ्दै गएको र नेतृत्व परिवर्तनको तयारी भइरहेको दाबी स्रोतहरूले गरेका छन्।
प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट ले मुख्यमन्त्री शाहलाई हटाउनुभन्दा उनले स्वयं राजीनामा दिनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।
यता सत्ता साझेदार केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) पनि सुदूरपश्चिम सरकारको वर्तमान नेतृत्वप्रति पूर्ण रूपमा सन्तुष्ट नरहेको बताइन्छ। प्रदेश सरकारमा एमालेका तीन मन्त्री सहभागी छन्, जसमा एक राज्यमन्त्रीसमेत रहेका छन्।
सभापति थापाले आज प्रदेशका नेताहरूसँग मुख्यमन्त्री शाहको भविष्य र पार्टीभित्रको शक्ति सन्तुलनबारे समेत छलफल गर्ने बुझिएको छ।













