कैलाली । कैलालीको धनगढीस्थित नवजिवन सहकारी संस्थाको आगामी जेठ ९ गते हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले अहिले चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका छन्।
संस्थाका अनुसार अध्यक्ष पदका लागि तिन जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका आकांक्षीहरू आ–आफ्नो प्यानल बनाएर जिल्लाभरि चुनावी अभियानमा सक्रिय रूपमा लागिरहेका छन्।
यसैबीच, नवजिवन सहकारी संस्थाको सञ्चालक समितिको सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रदेव भट्ट पनि चुनावी प्रचार–प्रसारलाई तीव्रता दिइरहेका छन्। हाल उनी सेयर सदस्यहरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहेका छन्।
भट्टले नवजिवन सहकारी संस्थामा करिब ४० हजार सेयर सदस्य रहेको उल्लेख गर्दै आफू सबै सदस्यहरूसँग प्रत्यक्ष भेटघाटमा रहेको बताए। निर्वाचनमा विजयी भए सेयर सदस्यहरूको भावना र आवश्यकतालाई आधार बनाएर विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
उनले विगतदेखि विभिन्न संघसंस्थामा काम गरेको अनुभवका आधारमा नवजिवन सहकारी संस्थालाई अझ उचाइमा पुर्याउन आफू सक्षम रहेको दाबी गरे। भट्टका अनुसार उनले ग्रामीण विकास सेवा केन्द्रको अध्यक्ष भएर काम गरिसकेका छन् भने १६ वर्षसम्म सरकारी सेवामा समेत अनुभव हासिल गरेका छन्।
त्यस्तै, वेताल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षका रूपमा काम गरेको अनुभवका साथै विभिन्न इन्जिनियरिङ कन्सल्टेन्सीमा लामो समयदेखि कार्यरत रहेको उनले बताए।
आगामी जेठ ९ गते हुने संस्थाको ३२औँ साधारणसभाबाट सञ्चालक समितिको सदस्य पदमा आफूलाई विजयी गराउन सम्पूर्ण सेयर सदस्यहरूलाई उनले आग्रह गरेका छन्।
“यदि म निर्वाचित भएँ भने समग्र सेयर सदस्यहरूको भावना, आवश्यकता र अग्रजहरूको सल्लाहअनुसार संस्थालाई अगाडि बढाउनेछु,” भट्टले भने।
उनले आफ्नो उम्मेदवारी क्रम संख्या ८ रहेको उल्लेख गर्दै आफूलाई विजयी गराउन सम्पूर्ण सेयर सदस्यहरूसँग आग्रह गरेका छन्।



















