धनगढी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार तथा जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
संयोजक प्रचण्डले समाचार लेखेकै आधारमा राज्य संयन्त्रद्वारा नियन्त्रणमा लिइनु लोकतन्त्रको उपहास भएको बताएका छन ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्थापित मिडिया र पत्रकारमाथि कुनै निश्चित विधि र कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको आरोप लगाएका छन्।
प्रेस स्वतन्त्रतामाथि राज्यले अङ्कुश लगाउन खोजेको उल्लेख गर्दै उनले गिरफ्तार गरिएका पत्रकार श्रेष्ठको तत्काल र बिनासर्त रिहाइको माग गरेका छन् ।
पत्रकार श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका हुन् । उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुर लगाइएको छ ।














