धनगढी । कैलाली कारागारबाट भागेका २०२ कैदीबन्दी एक वर्षदेखि फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।
फरारमध्ये १७ महिला र १८५ पुरुष रहेका कैलाली कारागारले जनाएको छ ।
भागेकामध्ये हालसम्म ४१ महिला र ४२१ पुरुष गरी ४६२ कैदीबन्दी मात्रै कारागार फर्किएका कैलाली कारागारका निमित्त प्रमुख वसन्त जोशीले जानकारी दिए ।
एकजना कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ ।
निमित्त प्रमुख जोशीका अनुसार फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका छन ।
कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए ।
जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका,एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको जोशीले बताए ।
‘फर्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो’, उनले निशाना न्युजसँग भने, ‘प्रहरीले फरार रहेकाहरुको खोजी जारी राखेको छ ।’














