कैलाली । १२ कक्षा उतीर्ण गरेपछि विदेश जाने सोच बनाएका कैलालीको कैलारी गाउँपािलक ४ का हेमन्त खरेल आपनै गाउँमा कृषि तथा पशुपालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
विदेश जाने सोचका साथ उनी काठमाडौँ पुगेका थिए। काठमाडौँमा कुखुरापालन फार्म अवलोकन गर्ने अवसर पाएपछि उनको सोच बदलियो।
विदेशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने लागेपछि उनले गाउँ फर्किएर कुखुरापालन सुरु गरे।
सुरुवाती चरणमा उनले स्थानीय जातका कुखुरा पालन गरे। व्यवसाय सुरु गर्दा बजार व्यवस्थापनमा भने निकै समस्या भएको उनी बताउँछन्।
आफूले उत्पादन गरेका कुखुरा बिक्री गर्न उनी आफैँ स्थानीय बजारसम्म पुग्ने गर्थे। निरन्तरको मेहनत र संघर्षपछि व्यवसाय विस्तार हुँदै गएको उनको भनाइ छ।
खरेलले अहिले खरेल पोल्ट्री फार्म सञ्चालन गर्दै आएका छन्। सिजनमा कुखुरापालनबाट सबै खर्च कटाएर वार्षिक करिब १० लाख रुपैयाँ बचत हुने गरेको उनी बताउँछन्।
बुबासँगको छलफलपछि उनले कुखुरापालनसँगै अन्य व्यवसायसमेत थप्दै गए। अहिले उनले माछापालन र बंगुरपालनलाई पनि व्यवसायका रूपमा अगाडि बढाएका छन्। हाल उनले प्रगतिशील बहुउद्देश्यीय कृषि फार्म, खरेल कृषक सप्लायर्स र खरेल मासु पसल सञ्चालन गरेका छन् ।
उनको व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १५० जनाले रोजगारी पाएको खरेलको दाबी छ। माछापालनबाट मात्रै सबै खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ बचत हुने गरेको उनी बताउँछन्। माछा पोखरीमा काम गर्ने कर्मचारीको तलबमा मात्रै मासिक करिब १ लाख ५२ हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ।
उनका अनुसार माछापालन व्यवसायको वार्षिक कारोबार करिब ७० लाख रुपैयाँ हुन्छ ।
खरेलले अहिले चार वटा पोखरीमा माछापालन गरिरहेका छन्। पोखरीमा करिब २५० क्विन्टल माछा रहेको उनले बताए। ग्रास, कमन, रोहु, जलकपुर र रुपचनलगायतका माछा उत्पादन तथा बिक्री गर्दै आएको उनको भनाइ छ।
माछाका भुरा उत्पादनसमेत गर्ने गरेको उनी बताउछन् । उनका अनुसार केही प्रजातिका माछाका भुरा विदेशबाट ल्याएर स्टक गरी ह्याचिङ गर्ने गरिन्छ भने रंगीन माछाका भुरा गेटास्थित मत्स्य केन्द्रबाट उपलब्ध हुने गरेका छन्।
हाल होलसेलमा माछा प्रतिकिलो ३०० रुपैयाँ र फुटकरमा ३५० रुपैयाँसम्म बिक्री हुने गरेको खरेलले बताए। भारतीय बजारबाट आउने माछाको प्रतिस्पर्धा कम भएकाले पछिल्लो समय स्थानीय माछापालकलाई सहज भएको उनको भनाइ छ।
पहिला हाम्रो माछा उत्पादन नहुँदै भारतीय बजारबाट सस्तो माछा आउँथ्यो। सस्तो माछा पाएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या हुन्थ्यो र घाटा बेहोर्नुपर्थ्यो। अहिले भारतीय नाकामा कडाइ भएकाले स्थानीय उत्पादनले राम्रो बजार पाउन थालेको उनको भनाई छ ।
बंगुरपालन भने उनले भर्खरै सुरु गरेका हुन्।
हाल २६ वटा बंगुर रहेको र थप १८ वटा बंगुर ल्याउने तयारी भइरहेको उनले बताए। बंगुरपालनका लागि करिब ६ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरिएको छ। स्थानीय जातको बंगुरपालनबाट राम्रो आम्दानी गर्न सकिने उनको विश्वास छ।
बंगुरपालन भर्खरै सुरु गरेका कारण कारोबार र आम्दानीबारे अहिले नै यकिन भन्न सकिँदैन। तर धेरै खर्च पनि नहुने र पाल्न सहज भएकाले राम्रो आम्दानी हुने विश्वास रहेको उनले बताए ।
विदेश जाने सोच बनाएका युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्दै खरेलले काम गर्ने इच्छाशक्ति र उद्देश्य आवश्यक रहेको बताए।
गर्न सकियो भने विदेशभन्दा नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ। पहिला काम गर्ने उद्देश्य हुनुपर्छ। त्यसपछि आफ्नो उद्देश्यअनुसार निरन्तर मेहनत गर्न सक्यो भने विदेशको भन्दा राम्रो आम्दानी यहीँ गर्न सकिन्छ खरेलको बुझाई छ ।














