धनगढी । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सोमबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रमका सहभागीहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रस्तुतिकरण राख्दै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका उपसचिव जयदेव महराले यस प्रदेशमा करिब २७ हजार बालबालिका विद्यालय बाहिर रहेका तथ्यांक प्रस्तुत गरे ।
सबैभन्दा बढी कैलालीमा ९ हजार बालबालिका विद्यालय बाहिर रहेका र कैलालीमा धनगढी उपमहानगरपालिकामा १ हजार ८२५ विद्यार्थी विद्यालय बाहिर रहेका उनले प्रस्तुत गरेको. तथ्यांकमा उल्लेख छ ।
त्यस्तै उनले यस प्रदेशमा विद्यालयमा विद्यार्थी नटिक्ने संख्या पनि धेरै रहेकोे बताए । गत शैक्षिकसत्रमा सुदूरपश्चिममा आठ लाख ३३ हजार विद्यार्थीमध्ये चालु शैक्षिकसत्रमा आठ लाख २ हजार मात्रै विद्यार्थी रहेको उनले तथ्यांक प्रस्तुत गरे । विद्यालय छोड्नेमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी बढी रहेको उल्लेख गर्दै उनले त्यसमा पनि बालशिक्षा बढी विद्यार्थी घटेको बताए ।
बढी जस्तो गरिब,विपन्न समुदायका तथा अपांगता भएका बालबालिका विद्यालय बाहिर रहेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले पहिलेको तुलनामा शिक्षामा सुधार हुँदै गएपनि धेरै बालबालिका विद्यालय बाहिर हुनु राम्रो नभएको उल्लेख गर्दै सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनु पर्ने बताए ।
उनले निःशुल्क शिक्षा हुँदा पनि बालबालिका सरकारी विद्यालयमा पढ्न नआउनु दुःखद भएको बताउँदै विद्यार्थी घट्नुको कारण पत्ता लगाउन सुक्ष्म अध्ययन गर्नुपर्ने बताए ।
उनले भने ‘सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी भएपनि संस्थागत विद्यालयको भन्दा कमजोर नतिजा किन आइरहेको छ । यसको पनि अध्ययन गर्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले उपमहानगरले शिक्षाको क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै पछिल्लो समय उपमहानगरका सामुदायिक विद्यालयको नतिजामा उल्लेख्य सुधार भएको बताइन् ।
कार्यक्रममा बोल्दै कैलारी गाउँपालिकास्थित दीपेन्द्र माध्यमिक विद्यालय प्रध्यानाध्यापक विनोद भट्टराईले सरकारले शिक्षाको विकासका लागि योजना ल्याएपनि बजेट अभावका कारण सोचेजस्तो सुधार हुन नसकेको बताए ।
धनगढीस्थित शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले सामुदायिक विद्यालयमा भर्ना भएर पछि संस्थागत विद्यालयमा पढ्न जाँदा विद्यालय छोड्ने बालबालिकाको संख्या बढी देखिएको बताए ।
त्यस्तै,धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयका शिक्षक गंगाराम ओझाले नीति बनेपनि कार्यान्वयनमा नआउनुले शिक्षाको सुधारमा समस्या भएको बताए ।
कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिका तथा अपांगता भएका बालबालिकाको शिक्षामा कसरी पहुँच बढाउने भन्नेबारे प्यानल डिस्कसन पनि गरिएको थियो ।
प्यानल डिस्कसनमा सहभागी कञ्चनपुरको लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले अपांगता भएका,गरिब तथा विपन्न समुदायका बालबालिकालाई विद्यालयमा ल्याउन चुनौति रहेको बताउँदै उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउन सबैको साझा पहल आवश्यक हुने बताए ।
प्यानल डिस्कसनमा सहभागी नेपाल अपांग महिला संघका प्रतिनिधि हिमाल रोकायाले अपांगता भएका विद्यार्थीका लागि सहज सिकाइको व्यवस्था हुनुपर्ने बताए ।
अर्का सहभागी युनिसेफका प्रतिनिधि पवित्रा चौधरीले अपांगता भएका तथा अन्य बालबालिकाका समस्यालाई अलगअलगरुपमा पहिल्याएर योजना बनाउनु पर्ने बताइन् । प्यानल डिस्कसनको सहजीरकण पत्रकार हिमाल जोशीले गरेका थिए ।
त्यस्तै कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल संस्थाका बारेमा जानकारी गराएका थिए । उनले संस्थामा ५ सय ४८ वटा संघसंस्था आवद्ध रहेका,५१ जिल्लामा संस्थाको पहुँच रहेको तथा ४६ जिल्लामा समन्वय समिति रहेको बताए ।
एक्सेस परियोजना संयोजक रोजिना श्रेष्ठले परियोजनाले गरिरहेका कामका बारेमा जानकारी गराएकी थिइन् भने अकाउन्टविलिटी ल्याव नेपालका गंगा भण्डारीले संस्थाका कामबारे जानकारी गराएकी थिइन् । नेपाल अपांग महिला संघकी अनिता ढुंगानाले आफ्नो संस्थाका गतिविधिबारे जानकारी गराएकी थिइन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कैलाली जिल्ला संयोजक हर्कबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।















