कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले आगामी असोज १५ गतेभित्र प्रदेशसभाबाट बजेट पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारसँग जोडदार आग्रह गरेको हो।
नेपालीहरूको महान् चाडपर्वहरू नजिकिँदै गएको अवस्थामा बजेट शून्यताका कारण सरकारले प्रदान गर्ने अत्यावश्यक सेवा प्रवाहसमेत प्रभावित भइरहेको भन्दै बैठकले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई निरन्तर बेवास्ता गर्दै आएको वर्तमान सरकारको कार्यशैलीप्रति समेत ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा विकास निर्माण, सार्वजनिक सेवा तथा नियमित प्रशासनिक काम प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस्तो परिस्थिति लामो समयसम्म कायम राख्न नहुने जनाएको छ।















