धनगढी । काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, एस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
सुदूरपश्चिम यातायातको सु.प.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ बस्ने ५२ वर्षीय पुष्करसिंह धामी,अछामको साँफेबगर नगरपालिका–५ बस्ने २६ वर्षीया मौसमी ओड,दार्चुलाको मार्मा गाउँपालिका–३ बस्ने ३० वर्षीय भगवती अवस्थी,४८ वर्षीय धनञ्जय जोशी कैलालीको लम्कीचुहा नगरपालिका–८ बस्ने २९ वर्षीया निर्मला खड्का,गौरीगंगा नगरपालिका–१० बस्ने ३९ वर्षीय बसचालक इन्द्र विक र गोदावरी नगरपालिका–१ बस्ने ४६ वर्षीय सहचालक मोहन जोशी रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको जनाइएको छ । बसमा करिब ४० देखि ४५ जना सवार रहेको जनाइएको छ ।
दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात पूर्ण रूपमा सञ्चालनमा रहेको जनाइएको छ ।

















