धनगढी- धनगढीमा किशोरीलाई ठक्कर दिने ग्रेडर चालकविरुद्ध मृतक किशोरीका परिवारले किटानी जाहेरी दिएका छन् । ग्रेडरको ठक्करबाट विहीबार दार्चुला घर घर भई धनगढीको पञ्चोदय माविमा अध्ययनरत १५ वर्षीया किशोरी चेतना साउँदको मृत्यु भएको थियो ।
किशोरीलाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल विरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले चालक विरूद्व किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जानकारी दिए । उनका अनुसार सेती प्रादेशिक अस्पतालमा परीक्षणपछि मृतकको शव परिवारको जिम्मा लगाएको हो ।
ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन । साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो।













