धनगढी- बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै आज बिहान जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् । बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नम्बरको जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो ।
घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनका अनुसार बुंगल नगरपालिका ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए । जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ ।













