काठमाडौं- एलन मस्कलाई पछि पार्दै ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्सको रियल(टाइम धनाढ्यहरूको सूचीअनुसार मस्क दोस्रो स्थानमा झरेका छन् ।
अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् । फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार अर्नाल्टको कुल सम्पत्ति १८६.३ बिलियन डलर र ट्विटरका नयाँ मालिक एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो ।
इलेक्ट्रिक कार कम्पनी टेस्लामा मस्कको सेयरको मूल्यमा तीव्र गिरावट आएको छ । सामाजिक सञ्जाल प्लेटर्फम ट्वीटर ४४ अर्ब डलरमा किनेपछि पनि मस्कको सम्पत्तिमा कमी आएको हो । टेस्ला मालिक मस्क सेप्टेम्बर २०२१ देखि शीर्ष स्थानमा छन् । त्यसपछि मस्क दोस्रो स्थानमा झरेको यो पहिलो पटक हो ।
भारतका गौतम अडानी धनीको वरियतामा तेस्रो स्थानमा छन् । अडानी समूहका प्रमुख गौतम अडानीको कुल सम्पत्ति १३४.८ बिलियन डलर छ । योसँगै अमेजनका संस्थापक जेफ बेजोस चौथो स्थानमा छन्, उनी १११.८ बिलियन डलरको मालिक हुन् ।
भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी अर्बपतिको सूचीमा आठौं स्थानमा छन् । अम्बानीको कुल सम्पत्ति ९३।३ बिलियन डलर छ ।













