काठमाडौं – मकवानपुर र सर्लाहीबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजीसहित ३५ वर्षीय हरिकृष्ण अधिकारीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसमेत तीनजनालाई अवैध लागूऔषध गाँजा तीन सय ग्राम र नगद एक हजार पाँच सय ८० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














