अछाम- अछाममा स्वतन्त्रहरु एकजुट भएका छन् । यसअघि भएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुसहितको भेला मंगलबार साँफेबगरमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा अछाम १ बाट उम्मेदवार रहेका राजन कुँवरको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले लक्ष्मण कुँवरको अध्यक्षतामा १ सय २७ सदस्यीय स्वतन्त्र समिति गठन गरेको छ ।
्समितिको उपाध्यक्षमा दिपक खत्री, सचिव प्रेम कुँवर रचय कोषाध्यक्षमा अशोक कुँवर चयन भएका छन् । भेलामा चुनावी समिक्षा गरिनुका साथै ४२ वटै वडामा संगठन निर्माण गर्ने, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने, मासिक लेबी उठाउने, महिनाको अन्तिम शनिबार मासिक बैठक बस्नेलगायतका निर्णय गरिएका छन् ।
भेलामा बोल्दै प्रमुख अतिथी कुँवरले चुनावमा भएका कमी कमजोरीलाई सुधार गर्दै आगामी पाँच वर्षको तयारीस्वरुप वडादेखि नगरसम्म युवा शक्तिलाई एकताबद्ध भएर अघि बढ्ने बताए । उनले भ्रष्टाचार हुन नदिने र भ्रष्टाचार गर्नेहरुमाथि कडा निगरानी राख्ने कार्यमा सक्रिय रहन सबैलाई आग्रह गरे ।
साथै उनले बयालपाटा अस्पताल संचालनको लागि सदैब लागिपर्ने, थप प्रविधिहरु ल्याउनमा विभिन्न निकायसंग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत गरे । सोही अवसरमा उनले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरुलाई उच्च सम्मान गर्दै धन्यवाद दिए।













