काठमाडौं- यसवर्ष धान उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको हो ।
यो वर्ष धानको उत्पादन ५४ लाख ८६ हजार ५७२ टन पुगेको छ । गत वर्ष कूल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएको थियो । जसअनुसार यो वर्ष ४ लाख ३९ हजार ४६७ टनले बढेर ५४ लाख ८६ हजार ५७२ टन पुगेको छ ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा यो धानको औषत रकम १६ अर्ब ४५ करोड ९७ लाख पर्न आउँछ । सरकारले मोटाधानको प्रतिक्वीन्टल २९ सय ६७ र मध्यमधानको ३१ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।
यस वर्ष उत्पादन बढे पनि धान लगाउने क्षेत्र भने घटेको छ । यसले धानको उत्पादकत्वमा पनि सुधार आएको देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष धानको समग्र क्षेत्रफल २ प्रतिशतले कमी आएको छ । यो वर्ष धानको उत्पादन प्रतिहेक्टर ३।७९ टन पुगेको छ । गत वर्ष यस्तो उत्पादन ३.४१ टन थियो ।
देशभर चैते र वर्षे सिजनको गरी कूल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको उल्लेख छ । हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले यो वर्ष मौसम औसत रहेको, तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेकोलगायत कारणले धानको उत्पादन र उत्पादकत्व वृद्धि भएको बताए ।













