काठमाडौं – बारामा लोड गरिएको पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पचरौता नगरपालिका-४ गुलरिया सीमा इलाकाबाट आइतबार कम्मरमा पेस्तोल बाँधेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहानी १६ का ४० वर्षीइ चन्दन कुमार छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले पेस्तोल र ७ राउन्ड गोलीसहित पक्राउ गरेको हो।
भारतबाट नेपाल आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई. को एउटा पेस्तोल बरामद गरेको हो।
साथै उनीबाट ११ हजार २७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोबाइल पनि बरामद गरेको छ।
पक्राउ परेका कुमारलाई इलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाएको छ। गत पुस ८ गते पनि महागढी नगरपालिका-२ भुटहीमा गोली हानेर ५० वर्षीय शिवपुजनप्रसाद यादवको हत्या भएको थियो।













