सप्तरी- सप्तरीबाट स्रोत नखुलेको रकमसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जिल्लाको बोदेबर्साइन नगरपालिका–९ देउरी बस्ने ३२ बर्षीय रामबिलास साह तेली र सोही नगरपालिका–७ बस्ने ५० बर्षीय मायानन्द झालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५२ लाख ८९ हजार ५०० रुपैयाँ, मोबाईल सेट दुई थान र हिसाब लेखिएको कापी पाँच थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कोठामा रहेको खाँटमाथि कपडाले छोपेर राखिएको २८ लाख ८९ हजार रुपैयाँ, सोही कोठामा बसिरहेका साहको साथबाट १५ लाख रुपैयाँ र झाको साथबाट ९ लाख समेत गरी जम्मा ५२ लाख ८९ हजार ५ सय नेपाली रुपैयाा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
बोदेबसाईन–५ स्थित बरसाईन बजारमा कोठा भाडा दिई बस्ने व्यक्तिहरुले नेपाली रुपैयाँको अवैध (हुण्डी) कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो काठमाण्डौं र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।













