धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र सिंह रावल नियुक्त भएका छन् । सत्ता गठबन्धन दलको सहमति अनुसार सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेपछि एमाले संसदीय दलका नेता रावलले मुख्यमन्त्री हुने अवसर पाएका हुन् । बहुमतसहित मुख्यमन्त्रीको दाबी पेश गरेका उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे ।
को हुन् राजेन्द्र सिंह रावल ?
सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त रावल बैतडीको दशरथचन्द नगरपालिकाको मारकण्डमा वि.स. २०२१ जेठ १६ गते जन्मिएका हन् । बुवा दानसिंह रावल र आमा कमलादेवी रावलको कोखबाट माइला छोराका रुपमा उनको जन्म भएको हो । उनका बुवा दानसिंह इन्डियन आर्मीमा कार्यरत थिए । उनको बाल्यकाल पनि भारतमै बित्यो । उनका बुवाले उनलाई भारतममै लगेर हुर्काए र त्यहीँ पढाए । उनले भारतका विभिन्न विद्यालयहरुमा अध्ययन गरे ।
भारतकोे सिलोङ, जबलपुर, ठुलीगाड हुँदैपछि उनले आफ्नो निम्न माध्यामिक शिक्षा भारतको तत्कालिन आर्मीका विद्यार्थीहरु पढ्ने सेन्ट्रल स्कुल केन्द्रीय विद्यालयबाट लिए । यद्यपि उनले एलएलसी भने नेपालबाट दिएका थिए । उनले एलएलसी बैतडीको शाहीलेक बिरेन्द्र माध्यामिक विद्यालयबाट उत्तीर्ण गरे । ‘इन्टर लेभल’को पढाई भारतको पिलिभितबाट पूरा गरे । स्नातक हतको पढाई पुनः नेपाल आएर गरे । उनले सिद्धनाथ बहुमुखी क्याम्पसमा स्नातक तह उत्तीर्ण गरेका हुन् । सोही क्याम्पसमा पढ्दै गर्दा उनी राजनीतिमा प्रवेश गरे ।
प्रेरणाको स्रोत आफ्नै दाई
उनी राजनीतिमा आउने मुख्य प्रेरणाको स्रोत भने उनका आफ्नै दाई रामसिंह रावल हुन् । उनका दाई तत्कालिन नेकपा पुष्पलाल समूहका केन्द्रीय सदस्य थिए । उनका दाईले पनि तत्कालिन समयमा ६ वर्ष जेल जीवन काटेका थिए । देशका लागि लड्दै गर्दा जेल जीवन काटेर पनि दाईले कहिल्यै पद र पुरस्कार नपाएको उनी सम्झन्छन् । उनका दाईको दुई वर्षअघि निधन भइसकेको छ ।
तत्कालिन समयमा उनका दाई रामसिंहले ‘मुक्ति मोर्चा’ भन्ने किताव पढ्न दिएका थिए उनलाई । सोही किताव पढेर उनी राजनीतितिर आकर्षित भएका थिए । सोही किताबले उनलाई राजनीति सिकायो । सोही किताबले डोर्याएको बाटो हिँड्दा अहिले उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा आसिन हुन पुगेका छन् ।
उनलाई राजनीतिमा लाग्न उत्प्रेरणा दिने अर्का व्यक्ति थिए उर्वादत्त पन्त । जसलाई उनी गुरु पनि मान्छन् । उनकै प्रेरणाले उनी अनेरास्ववियूमा आबद्ध भएका थिए । त्यसपछि उनी २०३९ देखि ०४२ सम्म अनेरास्ववियुमा आबद्ध भए । २०४४ सालतिर उनी बैतडीबाट कञ्चनपुर सरे । त्यसपछि उनले शिक्षण पेशा र पढाईलाई संगसंगै अगाडि बढाए ।
कञ्चनपुर पुगेपछि उनी पार्टीमा सक्रिय भएर लागे । दलमा आबद्ध भएर नगर कमिटी सदस्य भए । त्यसपछि मदन भण्डारी नेतृत्वको नेकपा माले पार्टीमा लागेर पार्टीको जिल्ला कमिटी संगठनको सदस्य भए । यसरी काम गर्दै जाँदा उनी विद्यार्थी फाँटको इन्चार्जसमेत भए । क्याम्पसमा भर्ना भएपछि उनी विद्यार्थी उत्साहित गर्ने उद्देश्यले शिद्धनाथ बहुमुखी क्याम्पसमा गएर एमालेको भातृ संगठन पाँचौको जिल्ला अधयक्ष भए । यसरी अगाडि बढ्ने क्रममा जिल्ला कमिटीको सदस्य र पछि गएर अनेरास्ववियुको नेता भए ।
माले पार्टीबाट नेकपा एमाले भइसकेपछि उनी २०५१ सालमा पहिलो जिल्ला अधिवेशनबाट निर्वाचित भए । जिल्ला संगठन कमिटीको प्रमुखमा रहेर काम गरे । त्यसबेला गाउँ जागरण अभियान चलाइयो । तत्कालिन महाकाली अञ्चलनका चारवटै जिल्लामा चलाइएको अभियानमा उनले एक उत्प्रेरकको भूमिका निर्वाह गरे । जसमा उनीलगायत चार/पाँच जनाले काम गरे ।
त्यसपछि उनी जिल्लाको उपसचिव र दुई कार्यकाल जिल्ला कमिटीको सचिवको रुपमा काम गरे । त्यसपछि उनले अञ्चल कमिटीको सदस्य हुँदै सचिवको रुपमा काम गर्ने अवसर प्राप्त गरे । त्यस पश्चात उनले केन्द्रीय कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको सचिवको रुपमा काम गर्दै गर्दा डडेल्धुराको ईन्चार्जको रुपमा पनि काम गरे ।
दोस्रोपटक जनप्रतिनिधि
राजेन्द्र रावले अहिले पार्टीको पोलिटब्युरो सदस्य हुनुका साथै सुदूरपश्चिम प्रदेशको सह–इन्चार्जको भूमिकामा छन् । जनप्रतिनिधिको हैसियतका रुपमा उनले पहिलो पटक २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भएर काम गरेका थिए । २०६२/६३ को जनआन्दोलनको बेला कञ्चनपुरबाट त्यसको अगुवाइ गर्ने काम पनि गरे । महाकालीको आन्दोलनका बेला उनलाई सार्वजनिक अपराधमा जेल हालियो । उनले १५ दिनसम्म जेलमा बस्नुपर्ने स्थिति आयो ।
उनले आफ्नो जीवनमा दुइवटा पुस्तक लेखेका छन् । उनका पुस्तकहरु तत्कालिन डोटी राज्यको मध्यकालिन इतिहास ‘१२ सय ३५ देखि लिएर १७ सय १२’ र ‘द इको पावर अफ प्यासन’ रहेको छ । मध्यकालिन डोटी राज्यको समाज र संस्कृति, इतिहास, संस्कृति, आर्थिक, कर प्रणालीलगायतका विषय समेटिएका छन् ।
पोलिटीकल स्कुलिङका लागि उनले एक महिनासम्म ब्राजिलको एफकोला स्कुलमा गएर माक्सबाद अध्ययन गरेका छन् । उनी एसियाली समाजवादी संगठन र विभिन्न जनसंगठनहरुमा आबद्ध भएका छन् । नेपाल राष्ट्रिय शिक्षा संगठनमा पनि बसेर उनले काम गर्ने अवसर पाएका छन् ।
मुख्यमन्त्री नियुक्त भइसकेपछि उनले सबै दललाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । जनता केन्द्रीत न्युनतम साझा कार्यक्रम ल्याउने उनको भनाइ छ । शिक्षा, ,स्वास्थ्य, रोजगारलाई विशेष जोड दिने उनी बताउँछन् ।













