धनगढी- सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका थारु बस्ती अहिले निकै व्यस्त छन्। घर–घरमा कोही पनि फुर्सदिला छैनन् । माघी आउन दुई दिन मात्रै बाँकी रहँदा थारु बस्तीमा व्यस्तता बढेको हो । धनगढी ५ जाइकी रेशमानी चौधरी चामल कुटानी, पिसानीको काम सकेर बाँकी चामल फट्कीदै छिन् ।
‘माघीमा धेरै परिकार बन्ने हुँदा तयारी पनि बढी गर्नुपर्छ,’ उनले भनिन्, ‘घरका सदस्य जसले जे काम गर्न सक्छन् त्यसैमा ब्यस्त छन् ।,’ विशेष गरि थारु समुदायमा मनाइने माघी पर्व घर–आगनमै पुगेपछि थारु बस्तीमा रौनकतासंगै व्यस्तता पनि थपिएको छ ।
अहिले जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा सबै ब्यस्त उनीहरु । माघी पर्वमा नभई नहुने खाने परिकार हो चामलबाट बन्ने ढिक्री हो । जुन चामलको पिठोबाट बनाइने गरिन्छ ।
ढिक्री बनाउनका लागि चामलको पिठो बनाउन कुटानी, पिसानी सकेर दुनाटपरी बनाउन थालेकी छन् धनगढी–५ जाईकी हली चौधरी पनि । ‘गाउँघरका सबै जना तयारीमा जुटेको छन् । हामी पनि तयारीमै छौं’ उनले भनिन् । दुना टपरीका लागि नजिकैको जंगलमा जान्छन् उनीहरु ।
यो समुदायका मानिसले तीन दिनसम्म माघी पर्व मनाउने गर्छन् । माघीमा विशेष गरेर सबैको घरमा चामलबाट बनाइएको ढिक्री र बंगुरको मासु खाने गरिन्छ । त्यति मात्रै नभई घर–घरमा ढिक्री, बंगुरको मासु, विभिन्न परिकारका तरकारी, चामबाट बनाइने विभिन्न परिकारका रोटी, जाँडलगायत विभिन्न खानेुकुरा पाक्ने गर्दछ ।
माघी थारु समुदायको नयाँ वर्ष पनि हो । थारू समुदायको नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्दछ । पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको थारु अगुवा बताउछन् ।
माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ । पुस महिनाको अन्तिम दिनबाट सुरु हुने यो माघ २ गतेसम्म मनाइने गरिन्छ ।
पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ । कतिपय गाउँ, ठाउँमा यस दिन नाँचगान पनि हुने गर्छ । माघ १ गते बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने चलन रहेको धनगढी ६ का विनय चौधरीले बताए ।
‘‘यो पर्वमा दुःख लाई भुलेर एक अर्कामा खुशी साट्दै नाचगान र मेलाको आयोजना गरि मनाइने गरिन्छ,’ उनले भने, ‘माघी पर्व मनाउनका लागि देश, विदेश रहेकाहरु पनि घर फर्कने गर्छन् ।,’ खानेकुराको परिकारहरु बनाएर आफन्तहरुलाई बोलाउने खाने र छोरीबेटीलाई बोलाउने गरिन्छ ।
धार्मिक, सामाजिक महत्व बोकेको माघी पर्व थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो । तत्कालीन समयमा मालिक वा जमिनदारका घरमा कमैया, कमलहरी बसेकाहरू माघी पर्वमा मात्रै छुट्टी पाउने गरेको यस समुदायका मानिस बताउँछन् ।
त्यसैले मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघी उल्लासपूर्वक मनाउने गर्छन् । माघीको अवसर पारेर कैलालीका विभिन्न क्षेत्रमा मेलाको पनि आयोजना गरिएका छन् । गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन् भने पर्वको रौनक बढ्न थालेको छ ।















